आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई पराजित गरेको छ ।

1 year ago

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए । कुशल जितको लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट हुन पुगेका थिए । करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् । नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ । सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।