सार्वजनिक सेवा प्रवाहलाई सर्वसुलभ बनाउनुपर्नेमा राष्ट्रियसभा सदस्यहरुको जोड

1 year ago

सार्वजनिक सेवा प्रवाहलाई सर्वसुलभ बनाउनुपर्नेमा राष्ट्रियसभा सदस्यहरुको जोड

 

राष्ट्रियसभा सदस्यहरुले सार्वजनिक सेवा प्रवाहलाई सर्वसुलभ तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको ‘दिगो विकास तथा सुशासन समिति बैठकमा उनीहरुले राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रलगायतका अत्यावश्यक सेवालाई सर्वसुलभ तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । सांसद नारायणप्रसाद दाहालले आफुलाई नै राहदानी नविकरण गर्दा धेरै समय कुर्नु परेको बताउनुभयो । उहाले सार्वजनिक सेवा प्रवाहलाई सर्वसुलभ तथा प्रभावकारी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशनलाई कार्यान्वयनको तहमा लैजानुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद रमेशजङग रायमाझीले राहदानी, सवारी चालक अनुमतिपत्र, मालपोत र श्रम कार्यालयको सेवा लिन जनताले निकै सास्ती व्यहोर्नुपरेको सुनाउनुभयो ।

सांसद कमलादेवी पन्तले सार्वजनिक सेवालाई छिटोछरितो र प्रभावकारी बनाउन समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

समितिका सभापति प्रकाश पन्थले सांसदले उठाएका सार्वजनिक सेवा प्रवाहको सहजता बनाउने विषयलाई प्राथमिकतामा राखेर समितिले सरकार एवं सरोकारवाला निकायलाई आवश्यक निर्देशन तथा अनुगमन गर्ने जानकारी दिनुभयो । समितिले यसअघि दिएका निर्देशनको कार्यान्वयनको अवस्थाको अध्ययन गर्न एक कार्यदल र उपसमिति गठन गरेको छ ।