सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । 

1 year ago

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । 

 

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको हो ।  कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले उक्त निर्णय सुनाएको हो । रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने नदेखिएको फैसलामा उल्लेख छ । लामिछानेले चितवन क्षेत्र नंवर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचित समेत भएको देखिदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाण पत्र दिनेलगायत कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २ (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने पनि फैसलामा उल्लेख छ । सर्वोच्चको फैसलासंगै लामिछानेको पद खारेज भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयो । 

 


लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । यसैबीच लामिछानेको सांसद पद नरहने फैसला आएपछि सर्वोच्च अदालत परिसरमा उनका समर्थनले प्रदर्शन गरेका थिए । प्रदर्शन गर्ने केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।