विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।

1 year ago

विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।

 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले लगातार तेस्रो जित निकालेको हो । पुलिसले गण्डकीलाई २५–२३,२५–२१,२४–२८ र २५–१५ ले हराएको हो । यस जितसँगै पुलिस समूह ’सी’ को समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसले ३ खेलमा ६ अंक जोड्यो । गण्डकीको पनि क्वाटरफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । पुलिसले अब क्वाटरफाइनलमा दावाली मिलन क्लबसँग खेल्नेछ । दावाली समूह ’ए’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।

त्यस्तै बुधबार नै ढोरपाटनले न्युटन भलिबल एकेडेमीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । ढोरपाटनले सुरुवाती दुई सेटमा जित निकालेपनि त्यसपछिको दुवै सेट गुमाउँदा खेल पाँचौ सेटमा लम्बिएको थियो । पहिलो र दोस्रो सेटमा क्रमशः २५–२३ र २५–२० को जित निकालेको ढोरपाटनले त्यसपछि दुई सेट क्रमश १८–२५ र २२–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । तर, पाँचौ सेटमा ढोरपाटनले १५–९ को सहज जित निकाल्न सफल भयो ।

यस्तै महिलातर्फ गण्डकी प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै विभागीय त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी समूह ‘बी’ बाट लगातार दुई जित निकाल्दै एक खेल बाँकी छँदै अन्तिम चारमा पुग्न सफल भएको हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को सहज जित निकाल्यो । च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नै बुधबार एभरेष्ट भलिबल क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । एभरेष्टले नयाँ बजारलाई २५–१२, २५–१२ र २५–१४ ले हराएको हो ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी–एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।