निर्वाचन आयोगले फागुन २५ बिहीबार राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्नेगरि कार्यतालिका सार्वजनिक गरेको छ ।

1 year ago

निर्वाचन आयोगले फागुन २५ बिहीबार राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्नेगरि कार्यतालिका सार्वजनिक गरेको छ ।


दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा १० बजेदेखि ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ भने फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने प्रवक्ता पौडेलले बताउनुभयो । त्यस्तै उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको उहाले बताउनुभयो ।

दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ । नेपालको संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ । २०७४ साल फागुन २९ मा भएको राष्ट्रपतिको निर्वाचनमा निर्वाचित हुनुभएका वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते समाप्त हुँदैछ भने २०७४ साल चैत ४ गते निर्विरोध निर्वाचित हुनुभएका वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुँदैछ ।