नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी र विराटनगर विजयी

1 year ago

नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी र विराटनगर विजयी

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार लुम्बिनीले काठमाडौंलाई १ सय २ रनले पराजित गरेको हो । काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरे पछि खेल १७ ओभरमा छोट्याईएको थियो । लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५.४ ओभरमा अलआउट भएर ८१ रन बनायो । काठमाडौंका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरी रनमा १६ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५÷१५ रन बनाए । लुम्बिनीका लागि ह्यारी टेक्टर,कुशल भुर्तेल र इशान पाण्डेले समान २÷२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा ७० रनको अर्धशतकीय ईनिङ खेले । उनले पहिलो विकेटका लागि लाहिरु मिलान्थासँग मिलेर ९८ रनको साझेदारी गरे । काठमाडौंका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । ८ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । लुम्बिनी १६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई पराजित गरेको छ । टियु मैदान किर्तिपुरमा फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । त्यसअघि ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो । विराटनगर ६ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । हारसँगै फार वेस्टको प्लेअफ सम्भावना कमजोर बनेको छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।