कर्जाको ब्याजदर बढ्न नदिन पहल हुदै छः पौडेल

1 year ago

कर्जाको ब्याजदर बढ्न नदिन पहल हुदै छः पौडेल

 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राखी ब्याजदर नियन्त्रणको पहल भइरहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार ललितपुरमा आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको भन्दै कर्जाको ब्याजदर बढ्न नदिन पनि सरकारले पहल गर्ने बताउनुभयो ।

उहाले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने तर अहिले देखिएका समस्या समाधानका लागि आवश्यक छलफल गरेर अघि बढ्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले करका बिषयमा समस्या देखिएको गुनासो आएको भन्दै सरकारी सेवा प्रवाहमा कतै समस्या देखिए भए निजी क्षेत्रले त्यसको जानकारी दिन आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने र यसका लागि कार्यविधि तयार पार्न पहल गर्ने बताउनुभयो । लघु, घरेलु, साना तथा मझौला उद्योगका समस्या पहिचान गरी समाधानका लागि सरकारले पहल उहाको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साना, घरेलु तथा मझौला उद्योगलाई विकास गर्न आवश्यक रहेको भन्दै सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रको बिकासका लागि बैंकहरुसंग सहकार्य गरिरहेको उहाको भनाइ छ ।

त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याजदरमा स्थायित्व, सरल र सहज कर प्रणाली बनाउनका लागि राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।