काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध माइतीघरमा प्रदर्शन

1 year ago

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध माइतीघरमा प्रदर्शन

डोजर आतंक बन्द गर्न माग गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ ।

गैरकानुनी रुपमा निजी संरचना भत्काएको, जथाभावी रुपमा डोजर चलाएको लगायत विषय उठाउँदै स्थानीयहरूले आइतबार प्रदर्शन गरेका हुन् । आइतबार माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनमा उपत्यकावासी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न समूहरूको सहभागिता रहेको छ । गत पुस २८ गते क्षेत्राधिकार मिच्दै महानगरले शंखमुलका सायल सिंहको घरको पर्खाल भत्काएको आन्दोलनका अगुवा सुमन सायमीले बताउनुभयो । महानगरवासीमाथि नै मेयर बालेन्द्र शाहले ज्यादती गरेको उहाँको गुनासो छ । उहाँका अनुसार महानगरले कुनै पनि पत्र र सूचना नै बिना घरको कम्पाउन्ड भत्काएको हो । उक्त विषयलाई लिएर स्थानीयले महानगरलाई सूचनाको हक सम्बन्धी निवेदन पनि दिएका थिए । तर महानगरले बेवास्ता गरेर संविधान प्रदत्त मौलिक हक पनि खोसेको उहाँले बताउनुभयो । सायमीले बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश भएको आरोप लगाउनुभयो । मेयर बालेन साहलाई सच्चिन आग्र गर्दै उहाँले नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको चेतावनी दिनुभयो ।

मेयर शाहले पूर्वसूचना बिना नै मानिसका घरमा डोजर चलाउने गर्दा यसअघि पनि पटकपटक स्थानीयहरू उनीविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।