आज सहिद दिवस, विविध कार्यक्रम गरि मनाइदै

1 year ago

आज सहिद दिवस, विविध कार्यक्रम गरि मनाइदै

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरि मनाइएको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

सहिद दिवसका अवसरमा सहिद स्मारक लैनचौरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको अहिलेको परिवर्तन सहिदहरुको त्याग र बलिदानबाटै सम्भव भएको बताउनुभयो ।

त्यसअघि शान्तिवाटिका रत्नपार्कबाट सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको थियो । सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।