टी २० लिग क्रिकेटको तयारी पुरा

1 year ago

टी २० लिग क्रिकेटको तयारी पुरा

 

 

 

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारबाट सुरु हुने पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेटको तयारी पुरा भएको छ । 

 


क्यानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । यसअघि शुक्रबारदेखि नै प्रतियोगीता सुरु हुने भनिएपनि प्राविधिक कारणबस शनिबारबाट प्रतियोगीता सुरु हुन लागेको हो । नेपाल टी २० लिग क्रिकेटको विजेताले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् भने दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने नेपाल टी–२० लिगका निर्देशक जतिन अग्रवालले जानकारी दिएका छन् । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । यसैगरी इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने अग्रवालले बताए । 

 

पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिभिन्न बाधा अवरोधकाबीच शनिबारबाट लिग सुरु हुने जानकारी गराएका छन् । प्रतियोगीताका लागी क्यान, खेलाडी सवै तयार रहेको उनले बताए ।

 

टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारको सहभागिता रहेको छ । क्यानले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइट भिड्ने छन् । शनिबार नै लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।