3 years ago
बिहीबार विश्व हात धुने दिवस नेपालमा पनि साबुनपानीले विभिन्न ठाउँमा हात धुने विषयमा जानकारी दिने तथा हात धुने कार्यक्रम गरी मनाइँदै छ ।
हातको सरसफाइ सबैका लागि, साबुनपानी हात सधै साथसाथ भन्ने नाराका साथ नेपालमा पनि विश्व हात धुने दिवस मनाइँदै छ ।
विश्व हात धुने दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र संक्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउन अपरिहार्य रहेको बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार शुभकामना सन्देश दिनुहुँदै कोभिड–१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता भएको पनि बताउनु भएको छ ।
साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिन्छ ।
नेपालमा सन् २००८ अक्टोरबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । विश्व हात धुने दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानेपानी मन्त्रालयको समन्वयमा असोज १३ गतेदेखि कात्तिक १४ गतेसम्म एक महिना तीनै तहका सरकार र सरोकारवालाहरुको साझेदारीमा देशभरि सबैका लागि हातको स्वच्छता अभियान सञ्चालन भइरहेको छ ।