संविधान सभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा

2 years ago

संविधान सभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा

संविधान सभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयता सहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगाएत सहभागी हुनुभएको थियो ।

सो क्रममा उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । त्यस्तै रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।

विशेष समारोहमा प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन र रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

संवाद, सहमति र सहकार्यबाट अघि बढ्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको प्रधानमन्त्री देउवाले बताउनुभयो । त्यस्तै उहाले आगामी चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोनाविरुद्धको खोप लगाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको ख्याख्या र विश्लेषण गर्ने गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ ।

जनताको हितका खातिर संविधानमा मौलिक हकका रुपमा अनेकौँ प्रावधान राखिएको छ । तर पनि संविधानले पूर्णरुपमा सवै क्षेत्रका जनताको भावनालाई आत्मसाथ नगरेको भन्दै संशोधन गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ ।