समिति बैठकले काठमाडौं जिल्ला प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने निर्णय

3 years ago

समिति बैठकले काठमाडौं जिल्ला प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने निर्णय

काठमाडौं जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमवार बसेको समिति बैठकले उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने र यसको व्यवस्थापन सम्बन्धी नगरपालीकाले मिलाउने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्ने व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बैठकले नाकामा एन्टीजेन परीक्षण गर्नका लागि एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ ।

बैठकले नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ–आफ्नो नगरपालिका भित्र एक–एक वटा आइशोलेसन - क्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै कोरोना फैलिन नदिन जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा माक्स र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने निर्णय पनि समितिले गरेको छ । त्यस्तै सार्वजनिक कार्यक्रम पनि सम्बधित निकायको अनुमतिबेगर गर्न नपाइने निर्णय समितिले गरेको छ । समितिले मास्क वितरण गर्ने, साार्वजनिक यातायातमा अनुगमन गर्ने र माक्स लगाउन अभिप्रेरित गर्ने लगाएका कार्यलाई तीव्रताका साथ सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।