रासायनिक हतियार नष्ट गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह

2 years ago

रासायनिक हतियार नष्ट गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । विश्वलाई नै रासायनिक हतियार विहीन बनाउन उहाँले सोमबार सवैलाई आग्रह गर्नुभएको हो ।

रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उहाँले यसको प्रयोग कहिल्यै, कहीँ, कुनै पनि बहानामा वा कुनै पनि अवस्थामा ठीक नभएको दावी गर्नुभयो । रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने गरेको पनि उहाँले स्मरण गराउनुभएको छ ।

“कुनै पनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही सावित गर्न सकिदैन, हामीले यस्लाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ,” उहाँले लेख्नुभएको छ ।

उहाँले रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वाभाविक रुपमा लिन नहुनेमा पनि जोड दिनुभयो । राष्ट्रसंघीय प्रमुखले रासायनिक हतियारको प्रयोग स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले रासायनिक हतियारबाट पीडित भएकाहरुप्रति पनि विश्व समुदायको नैतिक जिम्मेबारी रहेको तर्फ सवैको ध्यानाकर्षण गराउनुभयो ।