म्यानमारमा पक्राउ परेका बीबीसीका पत्रकार रिहा

2 years ago

म्यानमारमा पक्राउ परेका बीबीसीका पत्रकार रिहा

म्यानमारमा रिपोर्टिङका क्रममा पक्राउ परेका बीबीसीका पत्रकार आङ थुर रिहा भएका छन् । उनलाई आज (सोमवार) रिहा गरिएको बीबीसीले जनाएको छ ।

उनी नेपिअदस्थित अदालत बाहिर रिपोर्टिङ गरिरहेका बेला पक्राउ परेका थिए । बीबीसी बुर्मिज सर्भिसका पत्रकार थुरलाई गत शुक्रवार १९ मार्चमा सादा पोशाकमा आएका केही व्यक्तिले पक्राउ गरी लगेको बीबीसीले जनाएको छ ।

म्यानमारमा फेब्रुअरी १ गते सैन्य शाषण लागू भएयता ४० जना पत्रकारहरू पक्राउ परिसकेका छन्। त्यहाँ सेनाले सत्ता आफ्नो हातमा लिएर एक वर्ष संकटकालको घोषणा गरेको थियो।

सेनाले पाँच वटा मिडिया कम्पनीहरूको लाइसेन्स पनि रद्द गरेको छ । त्यस्तै पत्रिकाहरू पनि छाप्न बन्द भइसकेका छन् । गत शुक्रवार सेनाले आङ थुरसँग अर्का एक पत्रकारलाई पनि लगेको थियो । थुरलाई पक्रिने व्यक्तिहरू भ्यानमा आएका थिए।