मिडफिल्डर प्रकाशले भारतको आइलिगमा खेल्ने अवसर पाए‍

2 years ago

मिडफिल्डर प्रकाशले भारतको आइलिगमा खेल्ने अवसर पाए‍

नेपालका प्रकाश बुढाथोकीले एसियाकै प्रतिष्ठित मानिने भारतको आइलिग खेल्ने भएका छन्। 

प्रकाशले भारतको मणिपुरस्थित नेरोका एफसीमा अनुबन्धित भएपछि ‍आइलिग खेल्ने अवसर पाउने भएका हुन्।आइलिग भारतको ‘ए’ डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो।धरान उपमहानगरपालिका–२० पटनाली निवासी बुढाथोकीलाई धरान फुटबल क्लबले सोमबार बिदाइ गरेको थियो।

एन्फा १ नं प्रदेश अध्यक्ष तथा क्लबका अध्यक्ष किशोर राईले सफलताको शुभकामना दिँदै ‍ उनलाई रु आठ हजार नगद ‍प्रदान गरि बिदाइ गरेका थियो।धरान फुटबल क्लबबाट आफ्नो फुटबल यात्रा शुरु गरेका बुढाथोकीले नेपालको राष्ट्रिय टोलीबाट खेलेका थिए।

आफ्नो प्रोफाइल हेरेर क्लबले अनुबन्धन गर्दा खुशी लागेको उनले बताए।“उत्कृष्ट प्रदर्शन गर्न हरसम्भव प्रयास गर्नेछु, यो अवसरलाई चुक्न दिने छैन, नेपाली खेलाडीको सान बनाउने मेरो लक्ष्य छ”, उनले भने। 

उनले भूटानको ‘ए’ डिभिजनमा पारो एफसीबाट सन् २०१८ को सिजनमा उपविजेता हुँदा खेलेका थिए।प्रकाशले गत सिजन एनआरटीबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए। जारी आइलिगमा राष्ट्रिय टिमका कप्तान किरण चोमजोङले पञ्जाव एफसीबाट खेलिरहेका छन्।

११ टिम सहभागीमा जारी लिगमा नेरोका चार खेलबाट चार अंक जोड्दै दशौं स्थानमा छ। किरणको पञ्जाव पाँच खेलबाट पाँच अंक जोडेर नवौं स्थानमा छ।