ब्राजिलमा राष्ट्रपतिको कदम विरुद्ध सेनाका प्रमुखहरुको राजीनामा

2 years ago

ब्राजिलमा राष्ट्रपतिको कदम विरुद्ध सेनाका प्रमुखहरुको राजीनामा

राष्ट्रपति जइर बोल्सोनारुको नीति र कदम विरुद्ध ब्रजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्। राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको भन्दै उनीहरुले त्यसको विरोधमा एकै पटक राजीनामा दिएको बताइएका छन्।

सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका बोल्सोनारुमाथि थप संकट परेको छ । कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ। चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारेन्टिनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन्।

कोरोना भाइरसका बारेमा पनि उनले गलत टिप्पणी गर्दै आएका थिए। जनस्वास्थ्यसम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव कोरोनाभाइरसको भन्दा पनि नराम्रो हुने उनको तर्क थियो।

कोरोनाभाइरसका कारण उत्पन्न स्थितिलाई लिएर ‘हल्ला बन्द गर्न’ पनि बोल्सोनारुले आफ्ना नागरिकलाई भन्ने गरेका थिए। जनताको स्वास्थ्यभन्दा अनावश्यक कुरा गरेको भन्दै उनको आलोचना पछिल्लो समय बढेको थियो।

ब्राजिलमा संक्रमण बढ्नुको कारण उनीजस्ता जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति कारण भएको आरोप लाग्दै आएको छ । ब्रजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छन् भने एक करोड २५ लाखमा सङ्क्रमित छन्।