ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचारको दोषबाट सफाइ

2 years ago

ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचारको दोषबाट सफाइ

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डे सिल्भाविरूद्ध भ्रष्टाचार आरोपमा परेको मुद्दामा सर्वोच्च अदालतले सफाई दिएको छ ।

ब्राजिलको उच्च न्यायालयका एक न्यायाधीशले सफाइ दिएपछि पूर्व राष्ट्रपति लुलाको राजनीतिक अधिकार पुनः स्थापित बनेको छ ।

उनले अदालतबाट सफाई पाएपछि आगामी निर्वाचनमा वर्तमान् राष्ट्रपति जेइर बोल्सोनारोविरुद्ध प्रतिस्पर्धा गर्न पाउनेछन्।वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना कैदपछि रिहा गरिएको थियो ।

ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशको फैसलाले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका हुन् ।

पूर्वराष्ट्रपति लुलालाई ‘अपरेशन कार वाश’ नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो । त्यसमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए । तर न्यायाधीश एड्सन फाकिनले ती दोषबाट उनलाई सफाइ दिएका हुन् ।

उनलाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्रजिलियास्थित सङ्घीय अदालतमा हुने फैसला गरेका छन् ।

सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो । फैसलापछि एक विज्ञप्ति जारी गर्दै लुलाले आफू सधैँ सही रहेको प्रमाण अदालतले दिएको फैसला भएको दावी गरे ।

यसैगरी ब्राजिलका वर्तमान राष्ट्रपति बोल्सोनारोले ब्राजिलियालीहरूले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको प्रतिक्रिया दिएका छन् ।