बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित

2 years ago

बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित

सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले पराजित गर्दै बागमतीले लगातार दोस्रो जित निकालेको हो । बागमतीले दिएको ३ सय रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २१ ओभरमा अलआउट हुँदै १ सय १९ रन मात्र बनाउन सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । जितसंगै बागमतीले २ खेलमा ४ अंक जोडेको छ।

बागमती समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ । बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो , सुदूरपश्चिमको भने यो पहिलो खेल हो । पहिलो खेलमै सुदूरपश्चिमले हार व्यहोरेको छ ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा र प्रदेश नम्बर १ लाई २ विकेटले पराजित गर्दै गण्डकीले पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २७ ओभर ४ बलमा अलआउट भएर १ सय २ रन बनाएको थियो । जितसँगै समूह ’ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ ।

गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ । प्रदेश–१ को यो लगातार दोस्रो हार हो । प्रदेश–१ पुछारमा रहेको छ । पहिलो खेलमा गण्डकी आर्मीसँग र प्रदेश–१ एपीएफसँग पराजित भएको थियो ।