पाकिस्तानमा दोस्रोपटक टिकटकमाथि प्रतिबन्ध

2 years ago

पाकिस्तानमा दोस्रोपटक टिकटकमाथि प्रतिबन्ध

पछिल्लो समय विभिन्न देशहरुले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाइरहेका छन् । सोही क्रममा पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।

पाकिस्तानको एक अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । टिकटकमा अश्लील सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको हो ।

पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले बिहीवार टिकटकमाथिको मुद्दामा यस्तो आदेश दिएका हुन् । खानले टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अस्वीकार्य’ रहेको बताएका छन् ।

अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्लेटफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रोक लगाउन आदेश दिएको छ ।

पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए)ले अदालतको आदेश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको आदेशलाई चुनौती दिँदै पुनरवलोकनको आवेदन दिने बताएको छ । पाकिस्तानमा ६ महिनामा दोस्रोपटक टिकटकमाथि प्रतिबन्ध लगाइएको हो ।