नेपाली फुटबल टिमले आइतबारबाट ढाकामा प्रशिक्षण सुरु

2 years ago

नेपाली फुटबल टिमले आइतबारबाट ढाकामा प्रशिक्षण सुरु

मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आइतबारबाट ढाकामा प्रशिक्षण सुरु गरेको छ ।

नेपाली टोलीको कोरोना रिर्पाट नेगेटिभ आएसँगै प्रशिक्षण सुरु गरेको हो । नेपाली टिमले शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्ने छन् । यस अघि नेपाली टिमले प्रशिक्षणको अनुमति पाएको थिएन । नेपाली टिम होटलमै क्वारेन्टिनमा रहेको थियो ।

तर, शनिबार २५ खेलाडीसहित अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाललाई प्रशिक्षणको अनुमति मिलेको हो । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

ढाका आएपछि मैदानमै अभ्यास गराउन पाएका प्रशिक्षक बालगोपाल महर्जनले कोरोना कारण केही समस्या देखिए पनि नतिजा नेपालले राम्रो ल्याउने विश्वास गर्नुभयो । यस्तै कप्तान किरण चेम्जोङले पनि नेपाल र बंगलादेशको स्तर समान रहेकाले मैत्रीपूर्ण म्याचमा तीव्र प्रतिस्पर्धा हुने बताउनुभयो ।

नेपाली टोली गत बिहीबार ढाका पुगेको थियो ।