दीपेन्द्र लामा निर्देशित सर्ट फिल्म ‘सावधान’ रिलिज

2 years ago

दीपेन्द्र लामा निर्देशित सर्ट फिल्म ‘सावधान’ रिलिज

वर्षा राउत र प्रविण खतिवडा अभिनित फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको छ । बालयौन दुराचारको विषयलाई उठान गरिएको फिल्ममा दीपेन्द्रकै लेखन रहेको छ ।

सानी बालिकामाथि आफ्नै नजिकको आफन्तबाट यौन दुव्र्यवहार हुने तर उसको कुरालाई आमाबुवाले राम्रोसँग नसुन्ने प्रसंग फिल्ममा हेर्न पाइन्छ । वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने छोरीको भूमिकामा काव्या अधिकारी देखिन्छिन् ।

बुवाको भूमिकामा प्रवीण खतिवडा रहेका छन् भने आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामीले पनि फिल्ममा अभिनय गरेको निर्देशक लामाले बताएको छ । 

लामाका अनुसार ‘हामी आफ्ना छोराछोरीलाई मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुव्र्यवहारप्रति भने बेखबर हुनसक्छौं,’ ‘बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको कुरामा सुनाइ भएन भने ठूलौ दुर्घटना निम्तिन सक्छ ।’

करिब १० मिनेट अवधिको फिल्ममा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानी गरेका हुन् । निर्माता फुर्वाका अनुसार ‘घरभित्र हुने यौनदुव्र्यवहारबारे हामी खुलेर कुरा गर्दैनौं, यसले गर्दा पीडकहरु झन् उत्साही हुनसक्छ, त्यसैले यस्तो विषयमा सबैले खुलेरै चर्चा गरुन् भन्ने हाम्रो उद्देश्य  रहेको छ।

शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म काठमाडौंको कपन क्षेत्रमा एकै दिनमा खिचिएको थियो ।

बिन्ती नेपाल नामक अनौपचारिक अभियान यही फिल्मबाट सुरु भएको निर्मात्री फुर्वाले अवगत गराइन् । जनचेतनामूलक सिर्जनाहरु प्रस्तुत गर्दै जाने योजना यो अभियानको रहेको छ ।