त्रिभुवन आर्मी क्लबको पहिलो जित; राष्ट्रिय महिला लिग फुटबल

2 years ago

त्रिभुवन आर्मी क्लबको पहिलो जित; राष्ट्रिय महिला लिग फुटबल

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा वालिङ नगरपालिकालाई ७–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।

आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । यस्तै दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन् । जितसंगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ ।

पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

वालिङको यो पहिलो हार हो । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो । वालिङले २ खेलमा १ अंक जोडेको छ ।