चीन र युएईले संयुक्तरुपमा कोरोनाको खोप उत्पादन गर्ने

2 years ago

चीन र युएईले संयुक्तरुपमा कोरोनाको खोप उत्पादन गर्ने

चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले हिजो आइतवार युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गरेका छन् ।

दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गरेका छन् । त्यस अवसरमा चिनियाँ विदेश मन्त्री वाङले चीन र युएईले संयुक्तरुपमा कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न लागेकामा प्रशन्नता व्यक्त गरे ।

उनले यस कार्यबाट चिनियाँ खोपको विभिन्न देशमा परीक्षण गर्न र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले कोभिड महामारीविरुद्ध लड्न चीन र युएईबीचको साझेदारी नयाँ चरणमा प्रवेश गर्ने पनि बताए ।

युएईका विदेश मन्त्री शेख अब्दुल्लाहले चिनियाँ खोपको तेस्रो चरणको परीक्षण कार्यक्रम र खोप उत्पादनको नयाँ प्लान्ट स्थापनाले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

उनले हालसम्म १२० मुलुकभन्दा बढीका ५० हजारभन्दा बढी स्वयंसेवीले चिनियाँ खोपको परीक्षणमा सहभागी भएको जानकारी दिए । उनले चिनियाँ खोपहरु निकै सुरक्षित र प्रभावकारी पनि रहेकाले अन्तर्राष्ट्रिय समुदायले चिनियाँ खोपलाई मान्यता दिइरहेको बताए ।