3 years ago
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ ।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा शनिबार १५० गुर्जोको बिरुवा रोपिएको छ । गुर्जो रोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत वाग्मती सफाइ अभियानकर्मी पनि सहभागी हुनुभएको थियो ।
आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले अधिकारसम्पन्न वाग्मतीको कार्यालयमा बिरुवा उपलब्ध गराउनुभएको थियो । सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जोरोपण गरिने समितिले जनाएको छ ।
सांसद कृष्ण राईले नेपालमा आयुर्वेद औषधीको रुपमा प्रयोग हुने वनस्पतीको रोपणलाई प्रोत्साहन गर्न गुर्जो रोपण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । मासिनको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न गुर्जोको प्रयोग बढेकाले यसलाई व्यापकता प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो ।
गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउने बनस्पतीबिज्ञहरुले बताउदै आएका छन् ।