खेलाडीहरुको प्रशिक्षण सुरु

2 years ago

खेलाडीहरुको प्रशिक्षण सुरु

कोरोना भाइरस महामारीका बीच बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको नेपाली राष्ट्रिय फुटबल टीमले बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई अनुमति दिएपछि प्रशिक्षण सुरु भएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा प्रशिक्षण सुरु गरेको हो ।

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको यसअिघ एन्फाले जनाएको छ ।

यस्तै टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । यसअिघ कोरोनाका कारण गत चैत ११ देखि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञाका कारण खेलाडीले प्रशिक्षण गर्न पाएका थिएनन ।

नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।