कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता बन्न म्याद थप

2 years ago

कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता बन्न म्याद थप

कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता कायम गर्न त्यहाँको सरकारले समयावधि थप गरिएको जनाएको छ ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरिएको हो ।

कानूनी वैधता कायम गर्न वा कुवेत छोडी स्वदेश फिर्ता जान ३१ जनवरी २०२१ सम्म समयावधि तोकेकोमा यो अवधि बढाएर फेब्रुअरी १ अर्थात भोलिदेखि शुरू हुने गरी मार्च २ सम्मका लागि थप गरिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

नयाँ कोरोना भाइरस फैलिएसँगै देखापरेको अहिलेको असाधारण अवस्थालाई मध्येनजर गर्दै एक महिनाको अवधि थप गरिएको आन्तरिक मामिला मन्त्रालयलाई उदृत गर्दै दूतावासले जनाएको छ ।

थप गरिएको अवधिभित्र समेत आवासीय कानुन उल्लङ्घन गर्ने नेपाली लगायत विदेशी नागरिकहरूले आफ्नो कानुनी वैधता कायम गरेको नपाइएमा उनीहरुलाई कुवेत सरकारको कानून बमोजिम जरिवाना हुने, निजहरूले आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा फर्कन नसक्ने गरी डिपोर्ट गरिने मन्त्रालयले जनाएको छ ।