3 years ago
कोरोना संक्रमण जोखिमका कारण किराँत समुदायले यस वर्ष उधौली पर्व औपचारिकताका लागि मात्र मनाएका छन् । किराँत राई यायोक्खा केन्द्रिय कार्य समिति कोटेश्वरले बुधबार ललितपुरको हात्तीवनमा उधौली पर्व २०७७ आयोजना गरेको थियो ।
किराँत समुदायले खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । किराँत भित्रका विभिन्न जातजातिले यो पर्वलाई फरक फरक नाम दिएपनि समग्रमा उधौलीका नामले चिनिने गरेको छ ।
वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले मंसिर पूर्णिमामा उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलता अनुरुप कामका रुपमा समेत लिइने किराँत राई यायोक्खाको केन्द्रिय उपाध्यक्ष जीवन हाताचोले बताउनु भयो ।
त्यस्तै उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको उहाँको भनाई छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँने गरेको उपाध्यक्ष हाताचोले बताउनु भयो ।
भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ ढोल झ्याम्टासहित बाजाको तालमा नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन् । पूजापछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाच लगायतका नाच नाचेर मनोरञ्जन गर्छन् ।
किराँतहरुले विगतका वर्षमा उधौली पर्व भव्यताका साथ मनाउने गरेकोमा यस वर्ष कोरोना संक्रमण जोखिमका कारण चाडपर्व मनाउँदा सरकारले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर मनाउन आग्रह गरेकाले औपचारिकताका लागि सिमित संख्यामा भेला भएर मनाएको सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले जानकारी दिनुभयो ।
त्यस्तै लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूर्ति वा प्रतिमा नहुने भनाइ छ ।