3 years ago
भारतको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ को यस वर्षको शुटिङ सुरु भएको छ । गत महिनामात्रै कोरोना भाइरस संक्रमणमुक्त भएका अभिनेता अमिताभ बच्चनले कार्यक्रमको शुटिङ सुरु गरेका हुन् ।
कोरोना महामारीका कारण यसवर्ष केसीबीको शेटमा दर्शकको उपस्थिति नहुने भएको छ । अमिताभ बच्चनले केही तस्बिर ट्विट गर्दै लेखेका छन्, ‘१२ औं पर्व केसीबीः कौन बनेगा करोडपति आरम्भ १’ कार्यक्रमको नयाँ गाइडलाइनअनुसार कार्यक्रममा प्रत्यक्ष रुपमा दर्शकले सहभागिता जनाउँन पाउने छैनन् ।
यसका साथै सेटमा काम गर्ने पनि सीमित संख्यामा मात्रै हुनेछन् । बच्चनले सार्वजनिक गरेको तस्बिरमा ‘क्रु मेम्बर’ पीपीई किट लगाएर बसेको देखिएको छ ।
कौन बनेगा करोडपतिको यो १२ औं सिजन हो । दर्शक नभएका कारण शोको फर्म्याट परिवर्तन गर्नुपर्नेछ । खासगरी ‘अडियन्स पोल लाइफलाइन’ परिवर्तन गर्नुपर्ने भएपनि शोसँग जोडिएका व्यक्तिलाई नयाँ फर्म्याटबारे जानकारी दिइएको छैन ।
केबीसी यो वर्ष प्रशारण हुन्छ या हुँदैन र अमिताभ बच्चनले नै सञ्चालन गर्न पाउँछन् या पाउँदैनन् भन्ने विषयलाई लिएर केही महिनादेखि अनेक अट्कलबाजी भइरहेका थिए ।
लकडाउनका बावजुद मुम्बईमा सिरियल र फिल्मको शुटिङ बन्द थियो । अमिताभ बच्चनले आफ्नो घरबाट नै दर्शकलाई प्रश्न गरिरहेका थिए । यसको प्रोमो शुट पनि पहिलो पटक उनले घरबाट नै गरेका छन् ।
कार्यक्रममा भाग लिनका लागि दर्ता अनलाइनमार्फत गरिएको थियो भने पहिलो पटक अडिशन पनि घर बसेर नै गरिएको थियो । तर गत जुलाईमा अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यक्रमको भविष्यलाई लिएर अनेक अट्कलबाजी भएका थिए ।