एनएनआईपीए अवार्ड : गौरिका सिंह र करातेका मन्देकाजी सर्वोत्कृष्ट खेलाडी

2 years ago

एनएनआईपीए अवार्ड : गौरिका सिंह र करातेका मन्देकाजी सर्वोत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ’एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको १५ औं एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ गौरिका र पुरुषतर्फ मन्दे सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २६ खेलाडीमध्येबाट गौरिका र मन्दे सर्वोत्कृष्ट ठहरिए । सर्वोकृष्ट चुनिएसँगै गौरिका र मन्देले १–१ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै यस पटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्ड पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामीले प्राप्त गरे । दुबैले जनही ५०–५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिभावान खेलाडीको अवार्ड पुरुषमा फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरे । उनीहरुले जनही ५०–५० प्राप्त गरे । यस्तै अवार्ड कार्यक्रममा विभिन्न २६ खेलका उत्कृष्ट खेलाडीलाई ’एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २६ खेलका प्रत्येक खेलाडीले जनही १०–१० हजार नगद प्राप्त गरे ।

कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भएका थिए ।  शाहले ३५ हजार प्राप्त गरे । पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले प्राप्त गरे ।

खेलाडीहरुलाई मध्यपुर थिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठ र सम्बन्धित खेल संघका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए । १६ औं संस्करणको यो अवार्ड गोदावरी नगरपालिकाले आयोजना गर्ने त्यहाँका नगर पालिकाका  मेयर गजेन्द्र महर्जनले घोषणा गरे ।