उत्तर कोरियासँग सम्पर्क स्थापित गर्ने अमेरिकी प्रयास असफल

2 years ago

उत्तर कोरियासँग सम्पर्क स्थापित गर्ने अमेरिकी प्रयास असफल

उत्तर कोरिया सरकारसँग वार्ताको प्रयास गरे पनि अहिलेसम्म सम्पर्क स्थापित हुन नसकेको अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले जनाएको छ ।

गएको फेब्रुअरीदेखि नै सम्पर्क स्थापित गर्ने प्रयास भए पनि उत्तर कोरियाको तर्फबाट कुनै प्रतिक्रिया नआएको बाइडेन प्रशासनले जनाएको हो । तनाव थप नबढोस् भन्नका लागि प्योङ्गयाङ्गसँग सम्पर्क स्थापित गर्ने विभिन्न प्रयास भए पनि अहिलेसम्म सफल नभएको वासिङ्गटनका अधिकारीले बताएका छन् ।

उत्तर कोरियाको परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर दुई देशबिचको सम्बन्ध तनावको अवस्थामा रहेको छ । बाइडेन अघिका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग–उनबिचको वार्ताले कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।

अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम रोकिनु पर्ने माग गर्दै आए पनि त्यसमा किम मानेका छैनन् । समाचार संस्था रोयटर्सलाई एक अमेरिकी अधिकारीले दिएको जानकारी अनुसार ट्रम्प शासनको अन्तिम वर्ष र बाइडेन आएपछि पनि उत्तर कोरियासँग सम्पर्क स्थापित गर्ने विभिन्न प्रयास भएको छ । तर ती प्रयासले सार्थकता पाउन सकेका छैनन् ।