आङसाङ सुकीको रिहाइको माग: राष्ट्रसंघ सुरक्षा परिषद्

2 years ago

आङसाङ सुकीको रिहाइको माग: राष्ट्रसंघ सुरक्षा परिषद्

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको माग गरेको छ । 

बिहीबार सार्वजनिक गरिएको विज्ञप्तिमा परिषद्का सबै सदस्य मुलुकहरु म्यानमारमा प्रजातान्त्रिक परिवर्तनको पक्षमा रहेको बताए ।गत सोमबार म्यानमारको सेनाले शक्ति आफ्नो हातमा लिँदै प्रजातन्त्र पक्षधर नेताहरुलाई पक्राउ गरेको थियो । पाँच वर्षअघि जनताको हातमा आएको सत्ता पुनः खोसिएको थियो । 

यसअघि मंगलबार भएको बैठकमा चीनले परिषद्ले जारी गर्न लागेको वक्तव्य रोकेको थियो । बिहीबार सार्वजनिक गरिएको विज्ञप्तिमा म्यानमारमा पक्राउ गरिएका सबैलाई तत्काल रिहाइ गर्न माग गरिएको छ ।

साथै मुलुकका प्रजातान्त्रिक संस्थाहरु पुनःस्थापना गरिनुपर्ने, हिंसालाई प्रश्रय नदिन र पूर्णरुपमा मानव अधिकारको सम्मान गर्न परिषद्का सदस्यहरुले माग गरेका छन् । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले यसअघि नै म्यानमारको सेनाले गरेको कू पूर्णरुपमा अस्वीकार्य रहेको बताइसकेका छन् भने ‍राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर म्यानमारको कू असफल गराउन सहयोग गर्ने बताएका छन। उनले निर्वाचन भएको नतिजा स्वीकार नगरी गरिएको कू असफल हुँदै सामान्य अवस्था आउने विश्वास पनि व्यक्त गरे ।