अमेरिकामा आपतकाल घोषणा

2 years ago

अमेरिकामा आपतकाल घोषणा

बीबीसीका अनुसार अमेरिकामा साइबर हमला भएपछि आइतवार त्यहाँको सरकारले आपतकाल घोषणा गरेको  छ । साइबर हमलापछि सेवा सुरु गराउने प्रयास जारी गरेको छ र अझै सेवा दिन नसकिएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

शुक्रवार प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्दै आएको कोलोनियल पाइपलाइनमा साइबर हमला भएको हो । यसलगत्तै त्यहाँबाट इन्धन आपूर्ति पूर्णरूपमा बन्द भएको  छ । इस्ट कोस्टको निम्ति आवश्यक पर्ने डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यहाँबाट ४५ प्रतिशत आयात हुँदै आएको जनाइएको छ ।

आपत्काल घोषणा गरिएपछि सडकमार्गबाट इन्धन ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । साइबर हमलाको असर अमेरिकी तेल बजारमा सोमवार इन्धनको मूल्य २-३ प्रतिशतले बढ्न सक्ने अनुमान विज्ञहरुले गरेका छन् ।

उक्त ‘र्‍यान्समवेअर’ हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि अधिकारीहरूले दावी गरेका छन् । सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएको जनाइएको छ भने शुक्रवार त्यसपछि उनीहरूले ती डेटा केही कम्प्युटर तथा सर्भरमा राखेर फिरौतीको माग गरेका थिए।

फिरौती वा र्‍यान्सम नतिरिए सबै डेटा इन्टरनेटमा सार्वजनिक गरिदिने उनीहरूले चेतावनी पनि दिएको जनाइएको छ । डिजीटल स्याडोजको अनुसन्धानले ती साइबर हमलाकारी आपराधिक समूह रुसी भाषा बोलिने देशमा अवस्थित रहेको सम्भावना देखाएको खुलेको छ ।