३० वर्ष लामो समय पछि, लिभरपुल इंगलीश प्रिमियर लिग च्याम्पिएन

2 years ago

३० वर्ष लामो समय पछि, लिभरपुल इंगलीश प्रिमियर लिग च्याम्पिएन

लिभरपुलले इंगलीश प्रिमियर लिगको उपाधि हात पारेको छ । बिहिबार राति सम्पन्न प्रिमियर लिगको खेलमा चेल्सीले म्यान्चेष्टर सिटिलाई हराउँदा लिभरपुल उपाधि हात पार्न सफल भएको हो ।

जर्जन क्लोपको लिभरपुललाई एक मात्रै खेलमा जित हात पारे उपाधि सुनिश्चित हुने थियो । तर म्यान्चेष्टर सिटिले चेल्सीसँग हार बेहोर्दा लिभरपुललाई समात्न नसक्दा उसले उपाधि जित्न सफल भएको हो । लिभरपुलको यो १९ औँ लिग उपाधि हो भने सन् १९८९–९० यताको पहिलो । सहरका मेयरले सबैलाई घरभित्र बस्न आग्रह गरे पनि लिभरपुलका हजारौँ समर्थक एनफिल्डमा खुसियाली मनाउन जम्मा भएका थिए ।

लिभरपुलका गोलकिपर एलिस्सन, डिफेन्डर भर्जिल भान डाइक र मीडफिल्डर एलेक्स अक्सलैड चैम्बरलैन सिटि र चेल्सीबीचको खेलपछि सँगै बसेर खुशीयाली मनाए । सन् १९७३ देखि १९९० को बीचमा लिभरपुलले ११ पटक उपाधि हात पारेको थियो ।

बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित सिटी चेल्सीसँग स्तब्ध बन्यो । पहिलो हाफमा क्रिस्चियन पुलिसिचले चेल्सीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको शुरुवातमा नै केभिन डि ब्रुयनाले खेल बराबरी गरे । खेलको ७७ औँ मिनेटमा ह्यान्डबल गरेपछि फर्नान्डिन्होले रातो कार्ड पाए ।

ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई विलायनले गोलमा परिणत गर्दै चेल्सीको जीत सुनिश्चित गरे । लिभरपुलले जारी संस्करणमा ३१ खेलमध्ये २८ मा जित हात पारेर ८६ अङ्क बटुलेको छ । दुईवटा बराबरी र एक खेलमा उसले हार बेहोरेको छ ।