संयुक्त राजनीतिक दलित संघर्षको लालटिन जुलुस

2 years ago

संयुक्त राजनीतिक दलित संघर्षको लालटिन जुलुस

अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषी उन्मुक्ति दिन नहुने भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले बिहीबार काठमाडौंमा लालटिन जुलुस निकालेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएका भन्दै काठमाडौंको माइतिघरमा लालटिन जुलुस निकालेको हो । त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन बालुवाटार जाँदा बुधबार प्रहरीले गरेको हस्तक्षेपको पनि बिरोध गरेका छन् ।

त्यस्तै उनीहरुले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको आरोप पनि लगाएका थिए । जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा पोष्टमार्टम रिपोर्ट रिपोर्टमा हेरेफेर गरेको आरोप लगाएका छन् । सांसद लक्ष्मी परियारले सोती घटनामा सरकारले न्याय दिन नसकेको भन्दै विरोध गरिएको बताउनुभयो । न्यायको खोजि गर्नका लागि दिउँसै लालटीन जुलुस निकालिएको उहाँले बताउनुभयो ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ भने गृहमन्त्रालयको छानविन समितिले पनि प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।