समाचार मूलक भारतीय च्यानल नेपालमा बन्द

2 years ago

समाचार मूलक भारतीय च्यानल नेपालमा बन्द

नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने केही समाचारमूलक भारतीय टेलिभिजन च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ ।

चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले  स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको हो ।विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले त्यस्ता च्यानल बन्द गर्न वितरकलाई आग्रह गर्दै आएका थिए ।

डिसहोम, मेगा म्याक्स, डीएसएन, मेरो टिभीलगायतले सामूहिक रूपमा आजतक, जी न्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल बिहीबार साँझदेखि नेपालमा नदेखिने व्यवस्था गरिएको छ ।