राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

2 years ago

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार  निधन भएको छ ।

वर्तमान आधूनिक कविता, विशेषतः छन्द , कविता र गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको मंगलबार लैनचौरस्थित आफ्नै निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो ।

राष्ट्रिकवि घिमिरेले वि सं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधि लगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गर्नुभएको थियो ।

घिमिरे सय वर्ष पुगेको वर्ष मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले उक्त वर्षभरि जन्म शताब्दी मनाई उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दन लगायत कार्यक्रम गरेको थियो । लमजुङको पुस्तुनमा वि सं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा घिमिरेको जन्म भएको थियो ।

राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा पछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्रह प्रकाशित छन् ।

स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन् ।