फ्रान्समा फेरि ४ हप्ताको लकडाउन

2 years ago

फ्रान्समा फेरि ४ हप्ताको लकडाउन

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् ।

कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।

पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि म्याक्रोँले टेलिभिजन सम्बोधन गर्दै शुक्रबारदेखि लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् । नोभेम्बर भरी गरिने लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ ।

रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन् । तर विद्यालय र उद्योगहरु भने खुला हुनेछन् । फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिदै गएका छन् ।

जर्मनीले पनि आपतकालीन रुपमा लकडाउन गर्ने तयारी गरेको छ । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ।