नेपाली भूमि माथि भारतको अतिक्रमण

2 years ago

नेपाली भूमि माथि भारतको अतिक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा भारतले अतिक्रमण गरेर सडक बनाएकोले तत्काल वार्ता गर्न भारत तयार हुनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अन्तिम सीमा काली भएकोले यसमा कुनै विवाद नभएको बताउनुभएको हो ।

सन् २०१९ मा भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि मार्चसम्म लगातार वार्ताका लागि पहल गर्दा पनि तयार नभएकोसमेत प्रधानमन्त्री ओलीले बताउनुभएको थियो ।

प्रधानमन्त्रीले पुर्खाले लडेर बचाएको भूमि अडेर फिर्ता ल्याउनेसमेत बताउनुभयो । प्रधानमन्त्री ओलीले भारतले यो समस्या समाधानका लागि जुन तहमा वार्ता गर्न चाहन्छ त्यही तहमा नेपाल तयार रहेको जानकारी पनि बैठकमा गराएका थिए ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुले तत्काल भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् ।

काँग्रेस सभापति देउवाले काली नदी पूर्वको सबै भूभाग नेपालको भएको भन्दै समस्या समाधानका लागि सरकारले भारतसँग पहिले एक्लै र त्यसपछि भारत र चीनसँग त्रिपक्षीय वार्ता गर्न सुझाव दिनुभएको थियो ।

सन् २०१५ मा चीन र भारतबीच भएको समझदारीलाई लिएर नेपालले वार्ता गर्नुपर्ने पनि आफ्नो राय रहेको उहाले जानकारी दिनुभयो । 

बैठकमा वार्तामा भारत आउनैपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

उहाले लिपुलेकलगायतका क्षेत्रमा समस्या नसुल्झिएको स्वीकार गरिसकेको अवस्थामा सडक बनाएर उद्घाटन गर्नु कुटनीतिक र अन्तर्राष्ट्रिय कानुन, मान्यता र दृष्टिकोणका आधारममा पनि न्यायोचित नरहेको बताउनुभयो ।

यस बिषयमा नेपाल सरकारले स्पष्ट धारणा राखिसकेको भन्दै उहाले आवश्यक परे थप धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

अन्य दलका नेताहरुले देशको समृद्धि, कोरोना विरुद्धको संघर्ष र लिपुलेकलगायतको राष्ट्रियताको विषयमा सरकारले चाल्ने सकारात्मक कदममा सहयोग गर्ने बताएका थिए ।