टेलिभिजन बहसमा ट्रम्प–बाइडेनबीच चर्काचर्की

2 years ago

टेलिभिजन बहसमा ट्रम्प–बाइडेनबीच चर्काचर्की

अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको पहिलो टेलिभिजन बहस सकिएको छ । बहसमा ट्रम्प र बाइडेनबीच आफ्नो एजेन्डाका विषयमा भन्दा अन्य विषयमा बढी चर्काचर्की परेको छ ।

नेपाली समय अनुसार बुधबार बिहान भएको टेलिभिजन बहसमा दुई उम्मेदवारबीच विपक्षी उम्मेदवारको जवाफका क्रमममा चर्काचर्कीको अवस्था सिर्जना भएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन टेलिभिजन बहसमा पहिलो पटक आमनेसामने भएका हुन् ।

फक्स न्यूजका क्रिस वालसले सहजीकरण गरेको बहस इतिहासमै खराब रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति ट्रम्पले लगातार बाइडेनको जवाफका क्रममा अवरोध गरेका थिए । त्यसपछि वालसले बारम्बार ट्रम्पलाई सचेत गराउनुका साथै चर्को स्वरमै ट्रम्पलाई रोक्नु परेको थियो ।

टेलिभिजन बहसमा कोरोना भाइरसको महामारी, सर्वोच्च अदालतमा न्यायाधीस नियुक्तिको प्रसंग, रंगभेद, अर्थतन्त्र, जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रतालगायतका विषयमा छलफल भएको थियो । तर हरेक बहसमा ट्रम्पको अवरोधका कारण चर्काचर्की परेको थियो ।

राष्ट्रपति ट्रम्पले चुनावको नतिजालाई स्वीकार गर्ने या नगर्ने विषयमा कुनै प्रतिबद्धता जनाएनन् । तर बाइडेनले मतदातालाई आफूलाई जसरी सहज हुन्छ त्यसैगरी मतदान गर्न अपिल गर्दै जस्तोसुकै नतिजा आएपनि आफूले स्वीकार गर्ने प्रतिबद्धता जनाए ।

न्यूर्योक टाइम्सले गत आइतबारमात्रै राष्ट्रपति ट्रम्पले आयकर छली गरेको रिपोर्ट प्रकाशित गरेको थियो । तर बहसमा ट्रम्पले आफूले दशौँ लाख कर तिरेको दाबी गरे ।

उनले सन् २०१६ र २०१७ मा कति आय कर तिरेको हो भन्नेबारेमा भने जानकारी दिएनन् । तर न्यूयोर्क टाइम्समा प्रकाशित समाचारमा उनले दुवै वर्ष समान ७५० डलर मात्रै कर तिरेको उल्लेख छ ।

टेलिभिजन बहस सुरु हुनुभन्दा केही घण्टाअघि जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो कर सम्बन्धी विवरण सार्वजनिक गरेका थिए ।