काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणमा सरकारको सहयोगको कमि

2 years ago

काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणमा सरकारको सहयोगको कमि

काबेली इनर्जी प्रालिका अध्यक्ष प्रदीप श्रेष्ठले लामो समयदेखि अलपत्र ताप्लेजुङ र पाँचथरको सीमामा निर्माणाधीन ३७ दशमलव ६ मेगावाटको काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण अघि बढाउन सरकारले सहयोग नगरेको गुनासो गर्नुभएको छ ।

सिंहदरबारमा सोमबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारकै कारण आयोजना निर्माणमा ढिलाई भएको बताउनुभएको हो । उहाँले आयोजनामा लगानीकर्ताका कारण पनि समस्या भएको धारणा राख्नुभयोे । उहाँले आयोजना निर्माण भएपछि यसले लगानी उठाउने भन्दै लगानी जुटाइदिन पनि आग्रह गर्नुभयो ।

बुटवल पावर कम्पनीअन्तर्गतको सहायक कम्पनी काबेली इनर्जीले निर्माण गर्ने काबेली ए जलविद्युत् आयोजनाका लागि २०७२ साल मङ्सिरमा लगानी जुटेको थियो । आयोजनाको कूल लागत नौ करोड ९५ लाख डलर छ । श्रेष्ठले बिदेशबाट आउने लगानीकर्तालाई लगानीका लागि आग्रह गरिदिन सरकारलाई आग्रह गर्नुभयो ।

आयोजनामार्फत २०७६ पुसदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि समयमा काम नहुँदा यसको समयसीमा आगामी २०७९ भन्दा पछि ढकेलिने देखिएको छ । समिति बैठकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धमा पनि छलफल भएको थियो ।