काठमाडौं महानगरपालिकालाई १६ अर्व ४२ करोड ७३ लाखको बजेट

2 years ago

काठमाडौं महानगरपालिकालाई १६ अर्व ४२ करोड ७३ लाखको बजेट

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाखको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गर्नुभएको हो । बजेटमा आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ ।  यो कुल बजेटको १ दशमलव ५ प्रतिशत हो ।

त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरिएको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो । बजेटमा कोरोनाको असर त्यसको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ ।

महानगरका लागि बिशेष महत्व मानिने योजनाहरु महानगरको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

त्यसैगरी महानगरले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बर्दन र पूर्वाधार बिकासलाई महत्व दिई बजेट बिनियोजन गरेको छ । महानगरबाट संचालित बिकास कार्यक्रमको सुनिश्चितताको लाकि सुत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने गरि बजेट बिनियोजना गरिएको  उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बताउनुभयो ।

महानगरले कोरोनाको प्रभावका कारण करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक बर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ । 

महानगरले कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने जनाएको छ ।