अङ्गीकृत नागरिकतामा गलत प्रचार

2 years ago

अङ्गीकृत नागरिकतामा गलत प्रचार

अङ्गीकृत नागरिकतामा गलत प्रचार गरिएको भन्दै सत्तारुढ दलका सांसदहरुले आपत्ती जनाएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा नेकपाका वेदुराम भुसालले नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता दिने विषयमा नेपालको संविधानले नै प्रष्ट गरेको र सोही आधारमा कानून निर्माणको प्रक्रिया अगाडि बढाइए पनि केही राजनीतिक दलले गलत प्रचार गरिएको बताउनुभयो ।

अङ्गीकृत नागरिकलाई राजनीतिक बाहेक अन्य सबै प्रकारका अधिकार प्राप्त हुने भए पनि केही राजनीतिक दलले मुठभेट हुने जस्ता विषय उचालेर अनावश्यक हल्ला गरेको उहाँको आरोप थियो ।

नेकपाकै रामनारायण बिंडारीले नेपालको राष्ट्रियतालाई कोही कसैले पनि कमजोर बनाउन नसक्ने जनाउँदै एकापसमा मिलेर बसेको र एकार्कालाई सम्मान गरेको नेपाली समाजबारे गलत मनसायका साथ प्रचार नगर्न सम्बद्ध पक्षको ध्यानकर्षण गराउनुभयो । 

नेपाली काँग्रेसका प्रकाश पन्थले सरकार एकलौटी तवरले अगाडि बढ्न खोजेको, कोरोना नियन्त्रणमा ध्यान नदिएको तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने र प्रदर्शन गर्न पाउने व्यवस्थाको बर्खिलाफ गरी गतिविधि गरिरहेको आरोप लगाउँदै क्रियाशील राजनीतिक दलका बीचमा सहकार्य, सहमति र एकतामा जोड दिनुभयो ।

राजपाका मृगेन्द्रकुमार सिंहले तराई– मधेशका विभिन्न खहरे खोलाका कारण जनजीवन समस्यामा परेको र  आरक्षबाट आउने जङ्गली जनावरले खाद्य उपज सखाप पारेकाले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले “प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस“ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक असार ११ गते बोलाइएको छ ।