4 years ago
लामो समयदेखि अलपत्र बनेको बालाजु–ककनी–रानीपौवा सडक कालोपत्रे सुरु भएको छ । विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सनले सोमबारदेखि काठमाडौं–नुवाकोट जोड्ने सो सडक अन्तर्गतको मुड्खु–तीनपीप्ले खण्डमा कालोपत्रे सुरु गरेको हो ।
सोमबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उक्त सडकको स्थलगत अनुगमन गर्नु भयो । सडक कालोपत्रे गर्न अधिकारीको शैलुङ कन्ट्रक्सनलाई निरन्तर ताकेता गरेपछि कालोपत्रे सुरु भएको राज्यमन्त्री मानन्धरले बताउनु भयो ।
सडकखण्डको काठमाडौं जिल्लातर्फको सडक कालोपत्रे यो महिना भित्र सकिने मानन्धरले जानकारी दिनुभयो । उहाले देशभरिका सडक लगायतका भौतिक विकासका आयोजना निर्माणले अब गति लिने पनि दाबी गर्नुभयो ।
उक्त सडक समयमा नै निर्माण नभएपछि यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र राज्यमन्त्री मानन्धरसँग पनि नुवाकोटका संघीय सांसद नारायण खतिवडासहितको टोलीले छलफल गरेको थियो ।