विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

11 months ago

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

 

विश्व प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गर्दै नेपालमा पनि मनाइएको छ ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले दिवस मनाउने निर्णय गरेअनुसार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउदै आइएको छ । यो वर्षका लागि युनेस्कोले “भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” नारा तय गरेको छ । दिवसका अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा बार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो । कार्यक्रमा महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेसलाई आक्रमण गर्ने र आफ्नो अनुकल बनाउने प्रवृति जारी रहेकाले प्रेस जगत सुरक्षित छ भन्ने अवस्था नरहेको बताउनुभयो । प्रेस जगतमाथि आक्रमण गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा महासंघ रहेको उहाले बताउनुभयो । उहाले बिभिन्न चूनौतिकाबीच निरन्तर नागरिकलाई सूचना प्रवाह गर्ने, राज्यलाई खबरदारी गर्ने आफ्नो दायित्व निर्वाह गर्न नेपाली पत्रकारिता निरन्तर लागिपरिरहेको अवस्था रहेको बताउनुभयो ।

अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्न सक्ने भएकाले सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न युनेस्कोले आह्वान गर्दै आएको छ ।