भ्रष्टाचारविरुद्ध फाइल नभएर फायर खोल्नुपर्छः शर्मा

11 months ago

भ्रष्टाचारविरुद्ध फाइल नभएर फायर खोल्नुपर्छः शर्मा

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै दवावविना भ्रष्टाचारका विरुद्ध राज्य लाग्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा शर्माले दवावलाई पन्छाएर नक्कली भुटानी शरणार्थीका विषयमा खोलिएको फाइल निष्कर्षमा पुराउनुपर्ने र भ्रष्टाचारविरुद्ध फाइल नभएर फायर खोल्नुपर्ने बताउनुभयो । उहाले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्न नहुने र दोषी बच्न नहुने बताउनुभयो । शर्माले भ्रष्टाचारको छानबिनका लागि कुनै हदम्याद राख्न नहुने धारणा राख्नुभयो ।

त्यस्तै उहाले मुलुकको अहिलेको व्यवस्थाले मुलुकमा विदेशी लगानी भित्राउन नसकिने जिकिर गर्नुभयो । गैरआवासीय नेपालीको नागरिकताको विषयलाई अड्काएर राखिएका कारण पनि लगानीमा समस्या हुन सक्ने उहाले बताउनुभयो । सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्ने भन्दै उहाले ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै एमाले सांसद गोकर्ण बिष्टले बजेटमा आउने संकल्प जनताको जिवनको यथार्थमा रुपान्तरण हुन नसके सार्थकता पाउन नसक्ने बताउनुभयो । उहाले २४ प्रतिशत भार ओगटेको कृषि क्षेत्रलाई उपेक्षा गर्दा अरर्वौको कृषि बस्तु आयात गर्नुपरेको धारणा राख्नुभयो । बिष्टले समाजवाद उन्मुख अर्थतन्त्रको प्रतिवद्धतालाई पुरा गर्नका लागि आगामी बजेट केन्द्रीत हुनुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रका सासंद महेन्द्र बहादुर शाहीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पूर्ण र नयाँ कुरा केहि नरहेको भन्दै संसदमा छलफल सहित प्रभावकारी बनाएर लैजानुपर्ने बताउनुभयो । प्राथमिकताका आधारमा लगानीको क्षेत्रलाई पहिचान गरेर मात्रै लगानी गर्न सके मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने उहाले बताउनुभयो । उहाले सरकारको फजुल खर्चलाई नियन्त्रण गर्न सुझाव दिनुभयो ।

त्यस्तै सांसद प्रेमबहादुर महर्जनले कृषि उत्पादनमा बढी जोड दिनुपर्ने बताउनुभयो । सांसद सूर्यप्रसाद ढकालले राष्ट्रिय गौरव र अन्य योजनामा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने र उद्योगहरुको विस्तारका लागि आवश्यक बजेट छुट्टाउनुपर्ने धारणा राख्नुभयो ।