बैंकदर एक प्रतिशत बिन्दुले घट्यो

11 months ago

बैंकदर एक प्रतिशत बिन्दुले घट्यो

 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ ।

शुक्रबार काठमाडौंमा तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको जनाएको हो । ब्याजदर करिडोरअन्र्तगतका अन्य दरलाई भने यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही मौद्रिक व्यवस्था खुकुलो बनाइएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाले आर्थिक असहजतालाई सहज बनाउनको लागि मौद्रिक नीति लचिलो बनाएको बताउनुभयो ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थामा निरन्तरता दिइएको छ । बैंक तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) गणना गर्ने प्रयोजनका लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको बैकले जनाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले पुनरकर्जासम्बन्धी केही नयाँ व्यवस्था गरिएको छ । पछिल्लो छ महिनाको अवधिमा वृद्धिदर नकारात्मक देखिएका आर्थिक क्षेत्रका लागि पुनरकर्जा उपलब्ध गराइने गभर्नर अधिकारीले बताउनुभयो ।

ब्याजदर क्रमशः घट्न थालेका कारण कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने देखिएकाले समग्र माग व्यवस्थापनका साथै आन्तरिक उत्पादन विस्तार गर्न सकेमा मात्र बाहृय क्षेत्र र ब्याजदरमा आएको सुधार दिगो रहन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विद्यमान आकार, पुँजी पर्याप्तताको अवस्था, बाहृय क्षेत्र सुधार र वित्तीय स्रोत परिचालनको परिदृष्यलाई मध्यनगर गर्दा आगामी दिनहरुमा तरलता र ब्याजदरमा सुधार आउन गई आर्थिक गतिविधि चलायमान हुन थप सहयोग पुग्ने देखिएको बैंकले जनाएको छ ।