नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गर्न सांसदहरुको माग

10 months ago

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गर्न सांसदहरुको माग

 

प्रतिनिधिसभा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरि दोषीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनबाट पछि नहट्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा एमाले सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणको छानविनको अवस्थाका बारेमा सरकारले जानकारी गराउनुपर्ने बताउनुभयो । उहाले नेपालीलाई भुटानी शरणार्थी बनाउने काम भ्रष्टाचारजन्य जघन्य अपराध मात्र नभएर राष्ट्रघाती कदम भएको भन्दै दोषीलाई छिटो भन्दा छिटो कारवाही गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली शरणार्थी प्रकरणमा कसैको दवावमा नपरि अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोशिमा कार्कीले प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा पनि जोगाउने काम भइरहेको बताउनुभयो । उहाले यस प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताउनुभयो । कार्कीले सांसदहरुको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

त्यस्तै सांसद तेजुलाल चौधरीले देशमा शान्ति सुरक्षा राख्ने निकाय गृह मन्त्रालयमा रहेका व्यक्तिहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै दोषीलाई कारवाही गर्नबाट पछि नहट्न आग्रह गर्नुभयो ।

उहाले उक्त प्रकरणमा भएको चलखेललाई रोक्नुपर्ने र कसैको पक्ष वा बिपक्षमा नरही छानविन गर्न माग गर्नुभयो ।