हिमालयन शेर्पा र मछिन्द्रको बराबरी, थ्री स्टारसँग आर्मी स्तब्ध

1 year ago

हिमालयन शेर्पा र मछिन्द्रको बराबरी, थ्री स्टारसँग आर्मी स्तब्ध

 

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा हिमालयन र मछिन्द्रले १–१ गोलको बराबरी खेलेका छन् । खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो । त्यसअघि सत्यम शर्माले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८६ औं मिनेटमा सत्यमले पेनाल्टीमार्फत गोल गरेका हुन् । मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले ह्यान्डबल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । जसमा सत्यमले सहजै गोल गरे । यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोडेको छ । मछिन्द्रले पनि ६ खेलमा ६ अंक जोडेको छ ।

त्यस्तै च्यासल मैदानमा बिहीबार भएको खेलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो । थ्री स्टारले आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो । थ्री स्टारको जितमा अजयी मार्टिन्सले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । आर्मीले ६ खेलमा ८ अंक जोडेको छ ।