मुलुक संघीयतामा गइसकेपछि पनि सिंहदरबारको सोचबाट मुक्त हुन सकेनौः प्रधानमन्त्री

1 year ago

मुलुक संघीयतामा गइसकेपछि पनि सिंहदरबारको सोचबाट मुक्त हुन सकेनौः प्रधानमन्त्री

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक संघीयतामा गइसकेपछि पनि सिंहदरबारको सोचबाट मुक्त हुन नसकेको बताउनुभएको छ ।

शनिबार काठमाडौंको गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आम जनतालाई आर्थिक र राजनीतिक क्रियकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको भएपनि अहिले पनि सिंहदरबारको सोचबाट मुक्त हुन नसकेको बताउनुभएको हो । अहिले पनि संघीयता र परिवर्तनको आत्मसातीकरण गर्न नसकेकाले अझै मेहेनत गर्न आवश्यक रहेको उहाले बताउनुभयो । उहाले नेपालको संविधान धेरै प्रगतिशील भएको र यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको संकल्प गरेको जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्रमा सुुधार ल्याउन नसकिने भएकाले राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदल्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशी दातृ निकायहरुसंग आवश्यकता भन्दा बाहिरको ठाँउमा सहयोग लिइरहेको भन्दै प्राथमिकता निर्धारण गरेर सहयोग लिनुपर्ने बताउनुभयो । उहाले अर्थतन्त्रमा असहज स्थिति रहेको र सोचेअनुसार राजश्व संकलन नभएको अवस्थामा व्यापक खर्च कटौती गर्नुपर्ने देखिएको धारणा राख्नुभयो । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद्र ढकालले मुलुकमा निजी क्षेत्रको लगानी बढाउनका लागि सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभयो । अर्थतन्त्रलाई सुधारका लागि कर्जा प्रवाह बढाउनुपर्ने, व्याजदरलाई नियन्त्रण गर्नुपर्ने उहाले बताउनुभयो । उहाले लगानीकर्ता, उद्यमी एवं व्यवसायीमाथि निरन्तर भइरहेको प्रहारलाई रोक्नुपर्ने पनि धारणा राख्नुभयो ।

ढकालले दक्ष जनशक्ति न्यून रहेको र त्यही पनि विदेश पलायन हुने गरेकाले सरकार र नीजि क्षेत्र मिलेर अघि बढ्नुपर्ने अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।